![]() |
संविधान संशोधन विधेयकको विरुद्धमा उभिदै आएको एमालेसग तिक्तता कायम रहिरहे राजनीतिक जटिलता थप बढ्ने ठहर गर्दै मधेसी मोर्चाका नेताहरु एमालेसँग सम्बन्ध सुधार गर्न सम्वादमा सक्रिय भएका हुन् । कान्तिपुर दैनिकमा समाचार छ ।
मोर्चासित एमालेको तर्फबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवालीले वार्ताको अग्रसरता लिएका छन् । मोर्चाबाट तमलोपा वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी, महामन्त्री सर्वेन्द्रनाथ शुक्ल, सद्भावना पार्टी सहअध्यक्ष लक्ष्मणलाल कर्णले संवाद बढाइरहेको स्रोतले भन्यो । कर्णले भने आफू बैठकहरुमा सहभागी नरहेको बताए । मोर्चा नेताहरुको दाबीमा पछिल्लो एक सातायता भएका चरणबद्ध भेटहरु एमाले अध्यक्ष केपी ओलीको चाहनामा दोस्रो तहका नेताहरुको तर्फबाट आयोजना भएका हुन् । एमाले स्रोत भने मोर्चाभित्र उदार विचार राख्ने पक्ष आफैं संवाद बढाउन अग्रसर भएको दाबी गर्छ ।
‘मधेसी मोर्चासित संवादहीनता तोडियो, अब छलफल सुरु भएको छ,’ एमालेको तर्फबाट पछिल्ला भेटहरुमा सहभागी सचिव प्रदीप ज्ञवालीले कान्तिपुरसँग भने, ‘यी भेटहरुको बारेमा अध्यक्षलाई सबै जानकारी छ । तर परिणामको बारेमा हामी ढुक्क छैनौं ।’ मोर्चाभित्र एमालेलाई हेर्नेबारे दुई धार रहेकाले आफूसित संवादरत पक्षले सिंगो मोर्चालाई एमालेसग सहकार्य गर्ने तहसम्म ल्याउछ भन्नेमा आफूहरुलाई कम विश्वास रहेको एमालेका अर्का नेताले बताए । ‘तर एमालेलाई बाहिर राखेर एजेन्डाहरु टुंगो लगाउन सकिन्न भन्ने रियलाइजेशन उहाहरुलाई भएजस्तो देखियो, कुराकानीको क्रममा,’ ती नेताले भने ।
एमाले उपाध्यक्ष भीम रावलले भने मोर्चा पक्षसग भएका वार्ताहरु अनौपचारिक प्रकृतिकै रहेको दाबी गरे । ‘देशलाई अप्ठेरो परेका बेला सबैसग कुरा गरौं भन्ने स्पिरिटमै मोर्चासग कुरा भएको हो,’ रावलले भने, ‘औपचारिक किसिमले कुरा गर्न बाकी छ ।’ उच्च स्रोतका अनुसार प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको सत्ता आलोपालो सहमतिको म्याद गुज्रिन लागेकाले नया सम्भावनाहरुको खोजी गर्दै चुनावसम्म जाने मार्गचित्रबारे एमाले-मोर्चाबीच कुराकानी भइरहेको छ । स्रोतका अनुसार एमाले नेताहरुले जेठमै चुनाव गर्नका लागि सविधान संशोधन विधेयक पारित गरिहाल्न अनावश्यक जोड नदिनका लागि मोर्चालाई सुझाव दिएका छन् । ‘एकैचोटि तीनवटा चुनाव कात्तिक र मंसिरमा गरौं, तीमध्ये पहिले संसदकै चुनाव गरौं भन्ने हाम्रो भनाई मोर्चालाई राखिसकेका छौं,’ ती एमाले नेताले भने, ‘उहाहरुले सल्लाह गरेर आउछौं भन्नुभएको छ ।’
एमाले पक्षको भनाई पुष्टि गर्दै मोर्चाका उच्च नेताले आफूहरुको चाहना पनि स्थानीय चुनावमा नभएको, एमालेले प्रदेश र स्थानीय चुनाव पहिले नचाहलेकाले अब संसदीय चुनावकै लागि सहमति हुन सक्ने सम्भावना बताए । ‘एमालेका साथीहरुले आफ्नो कुरा खुल्लै ढंगले राख्नुभएको छ, अब हाम्रोबीचमा न्युनतम धारणा बन्न सक्यो भने छलफल गर्न सजिलो हुन्छ,’ मोर्चा नेताले भने, ‘हामीले संविधान सशोधन विधेयक एमालेकै पुरानो प्रस्ताव भएको भन्दै त्यो पहिले छिनोफानो गर्न भनेका छौं, सीमांकनबार एमालेले आयोग बनाई त्यसैका जिम्मा छाडिदिउँ, बरु आयोगको समयसीमा घटाएर ३ महिनामा झारे आफूलाई फरक पर्दैन भनिरहेको छ । यसमा ठोस कुरा मिल्न बाकी छ ।’
मोर्चाको तर्फबाट एमाले नेतृत्वसँग संवाद गर्नेहरुमध्येका नेता सर्वेन्द्रनाथ शुक्लले माधवकुमार नेपाल, भीम रावललगायत नेताहरुसग कुरा भएको खुलाए । दुवै पक्षले यी सबै भेटघाट र वार्ताहरु कहा भएका हुन् भन्नेबारे स्पष्ट खुलाएनन् । शुक्लले यत्ति भने, ‘एमालेका साथीहरुले प्राय: भेट्ने भनेको नयाँ बानेश्वरतिरै हो । मिलाएर बुझ्नुस् ।’ आफ्नो प्रभाव रहेका
मधेसी जिल्लाहरुमा एमालेलाई अवरोध पुर्याउँदै आएको मधेसी मोर्चा काठमाडौंमा भने दूरी घटाउन अग्रसर भएको छ ।
उच्च स्रोतको भनाईमा एमाले अध्यक्ष केपी ओलीले तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसग टेलिफोनमा कुरा गरेका छन् । राजधानीबाहिर रहेका यादवले त्यस्तो फोन नभएको दाबी गरे । ठाकुरले भने यसबारे खुलेर बताएनन् । संविधान संशोधन विधेयकको विरुद्धमा उभिदै आएको एमालेसग तिक्तता कायम रहिरहे राजनीतिक जटिलता थप बढ्ने ठहरमा मोर्चाभित्रका केही नेताहरु पुगेका छन् ।
संविधान जारी हुनेबित्तिकै २०७२ असोज २४ गते भएको प्रधानमन्त्री चुनावमा मोर्चाले ओलीको विपक्षमा मतदान गरेको थियो । गत साउन १९ गते भएको प्रधानमन्त्री चुनावमा पनि मोर्चाले ओलीविरद्ध दाहाललाई मतदान गरेको थियो । मोर्चाविरुद्ध कडा टिप्पणी गर्दै आएका ओलीसग हालसम्म अवरुद्ध संवाद तोडै दोस्रो तहका नेताहरुले प्रयास गरेका हुन् । मोर्चा स्रोतका अनुसार केही दिनभित्रै शीर्ष नेताहरुको बैठक बसी छलफलमा भएका प्रगतिबारे जानकारी गराइनेछ ।
![]() |

No comments:
Post a Comment