• Breaking News

    Sunday, February 26, 2017

    बाइकको इन्जिनले हेलिकप्टर

    फाल्गुन १५, २०७३- छिवाङ–४ का ३३ वर्षीय मञ्जित विक हेलिकप्टर बनाएपछि अहिले चर्चामा छन् । उनी पेसाले होटल व्यवसायी हुन् । मुसिकोट ५, सोलाबाङ बजारमा होटल व्यवसाय गर्दै आएका उनको ३ दिनयता चर्चा चुलिएको छ । होटलमा खाना, नास्ता बेच्ने विक अहिले फरक भूमिकामा देखिएका छन् । विक मोडलजस्तै बनेका छन् । उनी रुकुम महोत्सवमा आफूले निर्माण गरेको हेलिकप्टरसहित पुगेका थिए ।

     महोत्सवको मुख्य आकर्षण नै विक र उनले निर्माण गरेको हेलिकप्टर बनेको छ । सदरमुकाम खलंगास्थित बह्राटाकुरामा जारी महोत्सवको एउटा स्टलमा विकले निर्माण गरेको हेलिकप्टरलाई राखिएको छ । सोलाबाङवासीले २ क्विन्टल १५ किलो तौल रहेको हेलिकप्टरसहित विकलाई बाजागाजासहित महोत्सव स्थल पुर्‍याएका थिए ।
    कक्षा ८ मात्र अध्ययन गरेका विकले ३५ दिन लगाएर हेलिकप्टर निर्माण गरेका हुन् । होटलमा काम गर्दा समय बचाएर हेलिकप्टर निर्माण गरेको विकले बताए । ‘जिल्लामै ठूलो महोत्सव हुने भएपछि के गरेर देखाउने भन्ने भयो,’ विकले भने, ‘जिल्ला भित्र र बाहिरकालाई पनि अचम्म लाग्ने हेलिकप्टर नै होला भन्ने ठानेर यो बनाएको हुँ ।’ होन्डा साइन मोटरसाइलको इन्जिन राखेर उनले हेलिकप्टर तयार पारेका हुन् । हेलिकप्टर निर्माणमा १ लाख ८५ हजार रुपैयाँ खर्च भएको विकले बताए । स्थानीय गोविन्द बुढाले हेलिकप्टर निर्माण गर्दा लागेको सबै खर्च बेहोरिदिएका हुन् । हेलिकप्टर पेट्रोलको सहायताले उड्ने दाबी विकको छ । ‘मैले ५ फिटसम्म उडाएको हुँ,’ विकले दाबी गरे, ‘सुरक्षाकर्मीले त्यसरी अनुमतिबिना उडाउन नपाउने भनेपछि उडाएको छैन ।’
    टाढैबाट देखेको भरमा हेलिकप्टर निर्माण गरेको उनको दाबी छ । ‘मैले टाढाबाट मात्र हेलिकप्टर देखेको छु, नजिकबाट हेर्ने मौका मिलेको छैन,’ विकले भने । ‘अलि पहिला ख्यालख्यालमै सानो हेलिकप्टर पनि उड्ने नै बनाएको थिएँ,’ विकले भने, ‘पहिलो बनाएका आधारमा यसपटक ठूलो आकारको बनाएको हुँ ।’ महोत्सव उद्घाटन गर्न आएका प्रधानमन्त्री पुष्पकमल दाहालले उनको प्रशंसा गरेका थिए । प्रधानमन्त्रीले नै राम्रो भनेपछि थप उत्साहित बनेको उनी बताउँछन् ।
    २ क्विन्टल १५ किलोको हेलिकप्टरसहित विकलाई महोत्सवस्थल पुर्‍याइँदै ।




    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture