• Breaking News

    Friday, February 10, 2017

    आज स्वस्थानी व्रतको साङ्गे गरियो

    काठमाडौँ, २८ माघ, प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक गरिँदै आएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी सम्पन्न अर्थात् साङ्गे भएको छ । व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बस्नाका साथै हरेक दिन स्वस्थानी कथावाचन र  श्रवण गरेका थिए । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहानुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पार्वतीले लोककल्याणका निम्ति सो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीको उद्धार गरेकाले परम्परागत रूपमा सो कथा प्रचलित हुँदै आएको मानिन्छ । स्थानीय साँखुस्थित शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनाका स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पौष शुक्ल पूर्णिमादेखि व्रत शुभारम्भ गरेका थिए ।  यस वर्ष एक सय ७७ महिला र १५ पुरुषले माधवनारायण एवम् स्वस्थानीको व्रत लिएको माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । शालीनदीका व्रतालुले सबै विधि पूरा गरी आज बेलुकी अश्वमेध यज्ञ गरी माधवनारायण स्वस्थानी मेला समापन गरेको समितिका अध्यक्ष राजभाइ मानन्धरले जानकारी दिए ।रासस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture