• Breaking News

    Sunday, February 12, 2017

    सिराहा १ फागुन – राज्यविरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाइएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतलाई सिरहा जिल्ला अदालतले दोस्रो पटक दस दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।



    स्वतन्त्र मधेसको पक्षमा गतिविधि गर्दै आएको आरोपमा जनकपुरमा पक्राउ गरी इलाका प्रहरी कार्यालय लहानमार्फत् मुद्दा दायर गरिएपछि अदालतमा पेश गरिएका राउतलाई पहिलो पटक माघ २१ गते जिल्ला अदालतले अनुसन्धानका लागि दस दिनसम्म थुनामा राख्ने आदेश दिएको थियो ।
    राउतलाई अदालत लैजाने क्रममा उनका समर्थकले सिरहाको हेमनारायण चोक र अदालत अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीले भिड रोक्ने क्रममा झडप भएको छ। उत्तेजित भिड नियन्त्रणका लागि लाठीचार्ज समेत भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए ।
    झडपमा करिब एक दर्जन जना प्रदर्शनकारी घाइते भएका छन् । राउतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका करिब एक दर्जन कार्यकर्तालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।प्रदर्शन गर्नेमध्ये आठ जनालाई सिरहा र लहानबाट पक्राउ गरी राज्यविरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाएको छ ।
    मिर्चैया नगरपालिका ३ का रुपेश साह, सिरहा नगरपालिका ७ का विपिन यादव, सनहैठा १ का राजकुमार यादव, मझौरा ९ रामशंकर यादव, सनहैठा ४ का सुरेशप्रसाद यादव, ३ का रोशनकुमार यादव र संजय यादव तथा इँटाटार २ का अशोक कुमार यादवविरुद्ध मुद्दा चलाइएको हो।
    मधेश केन्द्रित दलले मनाउने बलिदानी दिवसको सन्दर्भमा माघ ५ गते लहानमा र्याली र कोणसभामा राउतले देश टुक्र्याउने भाषण गरेको आरोपको आधारमा धनुषा प्रहरीले २० गते जनकपुरमा पक्राउ गरी सिरहामा ल्याएर मुद्दा चलाएको हो। अन्नपूर्ण पोस्ट बाट


    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture