• Breaking News

    Thursday, February 23, 2017

    महिलाका लागि 'असहज' नागा बाबा

    काठमाडौं- महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा खरानी धसेर जय शम्भो! भन्दै नांगै बसेका जटाधारी बाबा प्रशस्तै देखिन्छन्। नागा बाबासँग जोडिएर तस्बिर खिचाउन रुचाउने युवा बढ्दै गएका छन्। युवा पुस्ताले नागा बाबाको नांगो दृश्यलाई खासै नराम्रो मान्दैनन्। तर पाका महिला भने नागा बाबाको नांगो दृश्यले असहज हुने गरेको बताउँछन्।

    ‘यो धार्मिक स्थल भएकाले नांगै बस्नु उचित होइ’, पशुपतिमा बिहीबार दिउँसो भेटिएकी रामकला तिवारीले भनिन्, ‘भगवान्को दर्शन गर्न भनेर आएको मन्दिर परिसरमा नांगा मान्छे देखेपछि खल्लो महसुस हुँदो रहेछ।’ तिवारीले परम्परा भए पनि नागा बाबाले गुप्तांग छोप्नुपर्ने बताइन्।

    इन्द्रकुमारी खत्रीलाई पनि नागा बाबा देख्दा अप्ठ्यारो महसुस हुन्छ। ‘जेठाजुलाई कपाल नदेखाउने प्रचलमा हुर्किएकी हुँ,’ खत्रीले भनिन्, ‘बाबाका नांगा दृश्यले भगवान्कै अपहेलना गरेको जस्तो लाग्छ।’

    केही महिला भने नांगो दृश्यले खासै अप्ठ्यारो नपर्ने बताउँछन्। ‘आफ्नै मान्छे नांगै बसेको पो असहज हुनु,’ राधिका लामिछानेले भनिन्, ‘चिन्दैनचिनेका व्यक्ति भएकाले नांगो बसेका बाबाले कुनै नराम्रो गरेजस्तो लाग्दैन।’ नागाबाबा शिवरात्रिकै आकर्षक रहेको उनको बुझाइ छ। विशेष पर्वका रूपमा बसेकाले यसलाई अनौठो मान्न नहुने लामिछानेले बताइन्। बाबाहरूको अभद्र व्यवहारले भने उनलाई पनि मन पर्दैन। कतिपय बाबाले युवती देखेपछि पछ्याउने, आशीर्वाद दिएको भन्दै कुचाले टाउकोमा हिर्काउने, लिंगको खरानी लगाउन अनुरोध गर्ने बानीले भने धेरै महिला पीडित हुने गरेका छन्।

    पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिका अवसरमा नागा बाबा आउनु परम्परागत प्रचलन हो। उनीहरू भारतबाट आउँछन्। ‘महाशिवरात्रिका अवसरमा बर्सेनि नागा बाबा भारतबाट आउँछन्’, कोषका सदस्य सचिव गोविन्द टन्डनले भने, ‘यो परम्परागत प्रचलन हो।’ महिलालाई असहज भएको थाहा पाएर पनि नांगै नबस वा नआऊ भन्न नमिल्ने टन्डनले बताए। यसरी आउने बाबालाई कोषले तीन सयदेखि पाँच हजारसम्म दक्षिणा दिएर बिदा दिने चलन छ। यसपालि यी बाबाको बिदाइ १५ गते गरिनेछ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture