• Breaking News

    Thursday, February 16, 2017

    ८० नेपालीसहित कतारमा २२० कामदार अलपत्र: भन्छन्, तलब त के खान पनि पाइएन

    काठमाडौँ, ०६ फागुन - कतारको स्केल ट्रेडिङ एण्ड कन्ट्रक्टिङ कम्पनी बन्द भएपछि झन्डै २ सय २० कामदार अलपत्र परेका छन्। जसमा ८० जना नेपाली कामदार छन्।

    कम्पनी सञ्चालक सम्र्पकविहीन भएपछि ती कामदारले चार महिनादेखि तलबसमेत पाएका छैनन्। गत डिसेम्बर २८ देखि काम बन्द भएपछि उनीहरू सनैया-४१ स्थित लेवर क्याम्प बस्दै आएका छन्।

    ‘हामीले अक्टोबर महिनाबाटै तलब पाएका थिएनौं। तलब नपाए पनि काम गर्दै आएका थियौं। कम्पनी मालिक नै सम्पर्क नभएपछि डिसेम्बर २८ बाट काम छाडेर क्याम्मै बस्दै आएका छौं,’ कम्पनीका ड्राइभर रहेका धादिङका रत्न लामाले भने,‘ अहिले हामीलाई दिनहुँ छाक टार्न समस्या पर्न थालेको छ।’

    ती कामदारहरू अधिकांश दुई वर्षअघि मिथिला र सेफल्याण्ड म्यानपावरबाट गएका थिए। ८ जना मात्रै ८ महिना अगाडि पुगेका हुन्। उनीहरूले लसेलस्थित व्यक्तिको घर बनाउने काम गर्दै आएका थिए। उनीहरू सबै गैरकानुनी हैसियत भइसकेका छन्। ‘हामी सबैको आईडी कार्ड (परिचयपत्र)को म्याद सकिसकेको छ। प्रहरीले चेकजाँच गर्दा पक्राउ परिन्छ। दिनभर राखेर बेलुका छाडिदिन्छ, अर्का पीडित धनुषाका अजय चौधरीले भने, ‘हामी स्वदेश फिर्न चाहन्छौं। तर सकिरहेका छैनौं।

    अधिकांश कामदारले ४ देखि ५ हजार रियाल (एक लाख ५० हजार रुपैयाँसम्म) तलब लिन बाँकी छ। उनीहरूले आफूहरूलाई उद्धार गरी स्वदेश पठाउन कतारको उच्च अदालत, श्रम विभाग र खोज तथा अनुसन्धान विभागमा समेत पुगेको बताए। ‘कतैबाट केही सहयोग पाइएको छैन। बस्न समस्या छैन तर खाना  समस्या भइसक्यो,’ उनले भने,‘जेनतेन साथीभाईसँग सहयोग लिएर दैनिकी चलाउदै आएका छौं।’

    कतारस्थित नेपाली दूतावासले पीडित कामदारले समस्या समाधान गर्न कतार सरकारलाई आग्रह भइसकेको जनाएको छ। ‘पीडितको समस्या समाधान गर्न दूतावासले सम्बन्धित निकायलाई पत्र पठाइसकेका छौं,’ दूतावासका एक अधिकारीले भने,‘हाम्रो तर्फबाट पनि कामदार र कम्पनी प्रतिनिधिसँग समन्वय गरिरहेका छौं।’ आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture