• Breaking News

    Thursday, February 16, 2017

    होश गर्ने कि हचुवामा निजी अस्पताल जाने, दर्ता नै नभएको अस्पतालमा अदक्षबाट अप्रेसन

    काठमाडौं, ६ फागुन, रूपन्देहीको लुम्बिनीस्थित एक अस्पतालमा अदक्ष व्यक्तिले बिरामीको अप्रेसन गरेका छन्। दर्तासमेत नभएको लुम्बिनी सांस्कृतिक नगरपालिकाको नैना अस्पतालले चिकित्सा क्षेत्रमा दक्षता नभएकाहरूबाटै अप्रेसन गराउने गरेको हो। जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीले बिहीबार अस्पतालमा छापा मारेको थियो। गैरकानुनी रूपमा अस्पताल सञ्चालन गरी बिरामीको जीवनमाथि खेलवाड भएको जानकारीपछि कार्यालयले छापा मारेको जनस्वास्थ्य कार्यालयका प्रमुख चूडामणि भण्डारीले जानकारी दिए।  ‘हामीले छापा मार्दा अप्रेसन गरेका ६ जना बिरामी बेडमै सुतिरहेका थिए,’ उनले भने, ‘अदक्ष व्यक्तिबाट अप्रेसन हुने गरेको रहेछ ।’ उनले अस्पताललाई कानुनअनुसार कारबाही गर्न प्रक्रिया अघि बढाएको बताए। लुम्बिनी–१, खुनगाईमा केही वर्षदेखि निजी लगानीमा उक्त अस्पताल खुलेको थियो। जनस्वास्थ्यले इलाका प्रहरी कार्यालय लुम्बिनीको सहयोगमा अस्पतालमा छापा मारेको थियो। जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख भण्डारीले अस्पताल जनस्वास्थ्य कार्यालयमा दर्ता नभएको बताए। बिरामीको अप्रेसनसमेत गरिरहेको प्रत्यक्ष प्रमाणसहित फेला पारेकाले आवश्यक कारबाही अघि बढाइएको उनले बताए। अस्पतालमा जाँच गर्ने दक्ष स्वास्थ्यकर्मी, प्राविधिक तथा भौतिक सामग्रीविनाको अप्रेसन थिएटर बनाइएको थियो। जनस्वास्थ्यले छापा मार्दा अस्पतालमा कार्यरत डा विद्या शुक्ला र डा सुरज गिरी भागेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। जनस्वास्थ्यको टोलीले अस्पताल सञ्चालक डा जेपी शुक्लालाई भने हिरासतमा लिएको छ। अस्पतालको बेडमा रहेका ६ जना बिरामीलाई एम्बुलेन्समार्फत भीम अस्पताल भैरहवा ल्याइएको जनस्वास्थ्य प्रमुख भण्डारीले बताए। (अन्नपूर्ण पोष्ट दैनिकबाट) -

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture