• Breaking News

    Sunday, February 19, 2017

    पोखरामा विशाल महादेव मूर्ती बनाउन, छ दिनमा साढे चार करोड संकलन

    पोखरा, ९ फागुन - कास्कीको पर्यटकीयस्थल पुम्दीकोटमा निर्माणाधीन विशाल महादेवको मूर्ती  लगायतका संरचना निर्माणको उद्देश्यका साथ सुरु गरिएको महाशिवपुराण महायज्ञको छैटौँ दिन आइतबारसम्म रु चार करोड ५० लाख सहयोग प्राप्त भएको छ ।

    पुम्दीकोटलाई धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने सोचका साथ एक सय आठ फिटको महादेव मूर्तिसहित कोट मन्दिर, सङ्ग्रहालय, शहीद स्मृति पार्कजस्ता धेरै संरचना निर्माण गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका संयोजक चन्द्रकान्त बरालले जानकारी दिएका छन्।

    महायज्ञको आइतबार छैटौँ दिन मात्र रु ६३ लाख सङ्कलन भएको महायज्ञ प्रचारप्रसार उपसमितिका संयोजक माधव रेग्मीले जानकारी दिए। उहाँका अनुसार पोखरा–२५ अनदु निवासी लक्ष्मी गुरुङ र उनका छोराहरू अशोक र राजनले ससुरा पूर्वमन्त्री स्व मीनबहादुर र पति पूर्वसांसद स्व कृष्णबहादुरको स्मृतिमा रु २५ लाख, सांसदद्वय यज्ञबहादुर थापा र जीवन परियारले संयुक्त रुपमा सांसद विकास कोषबाट रु पाँच लाख सहयोग गरेका छन्।

    त्यस्तै सांसद वृन्दा रानाले सांसद विकास कोषबाट रु पाँच लाख, सांसद शारदा पौडेलले दुई लाख ५० हजार, पोखरास्थित कुशुम कलेक्सनका सञ्चालक रामचन्द्र वास्तोलाले दुई लाख ६० हजार पाँच सय, पोखरा–२५ का स्व दुर्गादत्त बराल र माता गङ्गादेवीको स्मृतिमा छोराहरूद्वारा तीन लाख ३३ हजार तीन सय ३३ रुपैयाँ सहयोग गरेका छन्।

    अन्य सहयोगदातामध्ये पोखरा–२५ अनदुका भीमप्रसाद गुरुङ तथा कलावतीबाट एक लाख ११ हजार एक सय ११, पोखरा छोरेपाटनका उदयबहादुर वास्तोलाबाट एक लाख ११ हजार एक सय ११, पोखरा– २५ बाँसपानीकी नन्दकली बरालबाट रु एक लाख एक सय पाँच सहयोग प्राप्त भएको प्रचारप्रसार उपसमिति संयोजक रेग्मीले जानकारी दिए।

    महायज्ञ आगामी फागुन १३ गते महाशिवरात्रिका दिनसम्म सञ्चालन हुने महायज्ञ मूल आयोजक समितिका महासचिव प्रकाश बरालले जानकारी दिएका छन्। महायज्ञमा आईतबारसम्ममा तीन लाख भक्तजनको सहभागिता भइसकेको छ । रासस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture