• Breaking News

    Monday, February 6, 2017

    बच्चा चोरिएपछि निशानामा परेका नर्सको व्यथा

    हेमा थापा, नर्स




    तीन दिनअघि वीरगञ्जस्थित नारायणी उप–क्षेत्रीय अस्पतालबाट बच्चा चोरी भयो। ४८ घन्टापछि बच्चा फेला पर्‍यो। सिधा आँखाले हेर्दा, बच्चा चोरी हुँदा उब्जेको तनाव भेटिएपछि सकियो। तर, यसको अर्काे पाटो पनि छ। जहाँ एक पक्षले बिना गल्तीको सजाय भोगिरहेको छ। घोर अपमान ब्यहोरिरहेको छ। ती हुन् नर्स। बिरामीका आफन्त, गाउँले र समुदायले नर्सलाई बच्चा चोरको आरोप लगाएर त्यस्तै व्यवहार गर्ने क्रम रोकिएको छैन। अझै बाटोमा र हस्पिटलमा गरिने दुव्र्यवहारका कारण यहाँ कार्यरत नर्सहरु पीडित छन्। काम गर्ने मनोबल गिरेको छ उनीहरुको।

    नारायणी उपक्षेत्रीय अस्पतालबाट बच्चा चोरियो। प्रहरीले चोरलाई समातेर बच्चा शकुशल आफन्तको जिम्मा लगाएको छ। सुरुदेखि नै सुत्केरीका आफन्तले बच्चा आफ्नै हातबाट हराएको सकारिरहेका थिए। अहिले आएर त्यो प्रमाणित भयो। तर, दोष नर्सलाई लगाइयो र त्यसैका नाममा दुव्र्यवहार हामीले भोग्नुपरिरहेको छ।

    हराएको बच्चा नपाउन्जेल त नारायणीमा काम गर्ने नर्सहरुप्रति दुर्व्यवहार कति भयो कति। प्रहरीले ‘सबै नर्सलाई जेलमा जाक’ सम्म भने। बाटोमा हिँड्दा वीरगन्ज छपकैयाका बासिन्दाले सिधै ‘बच्चा चोर’ भनेर आरोप लगाए। बजारमा जाँदा पनि हामीलाई अपराधीलाई हेरेजस्तै हेरियो। जहाँ भेटियो त्यहीँ हातखुट्टा भाँचिदिने सम्मका धम्की आए।

    असुरक्षाका कारण घरबाहिर निस्किनै मुस्किल। आफूले नगरेको गल्तीको भागिदार हुनुपर्दा हाम्रो मन कति पोल्यो होला? हामीभित्र के बित्यो होला? कसैले महसुस गर्नै सक्दैन।

    यो अस्पतालमा ४० जना नर्सको दरबन्दी छ। तर, हामी १० जना नर्स मात्रै कार्यरत छौं। त्यसमध्य ६ जना त यहीँका स्थानीय बासिन्दा हौँ। स्थानीयको यस्तो व्यवहार र अस्पताल प्रशासनले पनि मर्का नुबुझ्ने भएकाले यो हस्पिटलमा कोही बस्न चाहँदैन। तर, ‘हामीले हाम्रो ठाउँमा सेवा दिएनौँ भने कसले दिने?’ भन्ने भावनाले यहाँ बसिरहेका छौँ।

    एक जना नर्सले ४०–५० जना बिरामीको सेवा गर्नुपर्ने हुन्छ। यसरी सेवा दिएबापत प्रोत्साहन र पुरस्कार पाउनु त परैको कुरा हो। हामी त हस्पिटलका हरेक गल्तीको दोषी भइरहेका छौँ।

    १७ वर्षको कलिलो उमेरमा नर्सका रुपमा यहाँ काम गर्न थालेकी हुँ। झन्डै २२ वर्ष बित्यो यही हस्पिटलमा। जीवनको ऊर्जाशील समय यहीँका बासिन्दाको सेवामा बिताएँ। तर सेवाको बदलामा के पाइयो? घृणा, दुव्र्यवहार र अपमान। यही हो त न्याय? के हाम्रो समाज अझै यस्तै संकूचित सोचकै आधारमा चलिरहने हो?

    आशादेवीको बच्चा हराउनुमा ड्युटीमा रहेका नर्स साथीहरुको दोष थिएन। यो अनुसन्धानले पुष्टि गरिसकेको छ। तर, हिजो राति पनि एक सुत्केरीका आफन्तहरुले प्रसूति कक्षमै डेरा जमाउन खोजे। उनीहरु भन्दै थिए, ‘तिमीहरुको के भर? हाम्रो बच्चा बेची पो दिने हौ की?’

    कहिले बेच्यौँ हामीले बच्चा? र यो दोष लगाउने अधिकार छ उनीहरुलाई? उनीहरुकै आफन्तको प्रसव पीडामा मल्हम लगाइदिन खटिएका थिए हाम्रा साथीहरु। आमा र शिशुको सुरक्षाका लागि रातदिन नभनी तैनाथ थिए नर्सहरु। र, उनैमाथि यस्तो शंका गर्दा अलिकति पनि मन धकाएन? के समाज हामी नर्समाथि क्रूर हुँदै गएको हो? हामी समाजका लागि केही पनि होइनौँ? यस्ता प्रश्नले दिमाग चक्राउन थालिसकेको छ।

    निरन्तर विभेदको शिकार भइरहेका हाम्रो यतिबेला मनोबल पनि गिरेको छ। अस्पताल गएर सेवा दिने ऊर्जा कुनै नर्ससँग छैन। आफन्तहरु तर्सिएका छन्। उनीहरुलाई तर्साइएको छ। नखाएको विष लाग्दाको छटपटी कस्तो हुन्छ? हो, ठ्याक्कै हाम्रो हालत त्यस्तै छ। तर, कसले बुझ्छ हाम्रो मर्का? को बोलिदिन्छ हाम्रा पक्षमा?

    गल्ती अर्कैले गरेर दोष नर्सले खेप्नुपरेको यो पहिलोपटक होइन। पियनले बिरामीको आफन्तसँग पैसा माग्दा दोष नर्समाथि आइपरेको छ भने, डाक्टरले अर्कै हस्पिटलमा बिरामी रिफर गर्दा पनि दोषी हामी नै हुनुपरेको छ।

    अस्पताल प्रशासन, सुरक्षा निकाय र बिरामीका आफन्त सबैलाई थाहा छ, बच्चा चोरिनुमा नर्स कहीँ कतै दोषी छैनन् र भेटिएनन्। तर, किन आक्रोशको आगो हामीतिरै झोसिरहेका छन् सबैले?

    अरुका कुरा बेग्लै भए। अस्पताल प्रशासनले किन हाम्रो संवेदना र सुरक्षालाई महसुस गर्न सक्दैन? एउटा बिरामीका १० जना आफन्त आउँछन्। उनीहरुको भीड छिचोलेर बिरामीलाई कसरी सेवा दिइरहेका छौं, कसरी व्यवस्थापन गरिरहेका छौं, कसैले अनुभव गरेको छ? स्वास्थ्य खबर पत्रिकाले छापेको छ ।

    अरुका पीडामा मल्हम बनिरहेका छौँ हामी। तर, हाम्रो मनको चोट गहिरिँदै गइरहेको छ। त्यसैमा नुनचुक छर्किरहेको छ समाज। म यो समाजलाई प्रश्न गर्न चाहन्छु, सेवाको बदला अपमान दिनु न्यायोचित छ? यदि यही नै ठिक व्यावहार हो भन्ने लाग्छ भने समाजका मान्छेहरुको संवेदना मर्‍यो भनेर बुझ्दा हुने भो। संवेदनाविहीन भएर कसरी हिँडिरहनुभएको छ तपाईंहरु?


    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture