• Breaking News

    Sunday, February 5, 2017

    माघ २३, २०७३- संग्रहालय भन्ने बित्तिकै तिमीहरू प्राचीन वस्तुहरू संकलन गरेर राखिएको ठाउँ सम्झन्छौ होला । तर विमानहरू मात्रै राखिएका संग्रहालय पनि हुन्छन् । जहाज, उडान आदिको इतिहास, तथ्यहरू प्रदर्शनी गरिने यस्तो संग्रहालयलाई एभिएसन म्युजियम भनिन्छ । कतैकतै यसलाई एयर म्युजियम भन्छन् । केही मुलुकमा एरोस्पेस म्युजियम पनि भन्ने गरिन्छ । यस्ता संग्रहालयमा साँच्चिकैका जहाजदेखि जहाजका स्वरूप, मोडल, तस्बिर, नक्सा, उपकरण र चालक दलले प्रयोग गरेका ड्रेससमेत राखिएका हुन्छन् । यस्ता संग्रहालयमा पाइलटसँग कुराकानी गर्ने अवसर पनि उपलब्ध हुन्छ । जहाजको ककपिटमा बसेर कसरी उडाइन्छ भन्नेबारे जानकारी लिन पाइन्छ । एयर ट्राफिक कन्ट्रोलर र पाइलटबीच हुने संवादसमेत सुन्न मिल्छ ।

    विश्वमा विभिन्न मुलुकमा रहेका यस्ता संग्रहालयमा एकदेखि सयौं विमान हुन्छन् । कतिपय मुलुकमा सैनिक उड्डयन र नागरिक उड्डयनसँग सम्बन्धित भिन्नाभिन्नै संग्रहालय हुन्छन् । फ्रान्सको ‘फ्रान्स एयर एन्ड स्पेस म्युजियममा कनकर्ड विमान राखिएको छ ।
    संयुक्तराज्य अमेरिकाको वासिङ्टनमा रहेको फयुचर अफ फ्लाइट सेन्टरमा उक्त कम्पनीलेउत्पादन गरेका सबै विमानबारे जानकारी दिन बेग्लै संग्रहालय छ । अमेरिकाकै एरिजोनामा रहेको पिमा एयर एन्ड स्पेस म्युजियममा ३ सय विमान छन् । वासिङ्टनकै एपोलो संग्रहालयमा पहिलोपटक चन्द्रमा यात्रामा अन्तरिक्षयात्रीले प्रयोग गरेको स्पेस विमान छ । हाम्रै मुलुक नेपालमा पनि कैलालीको धनगढीमा फोकर–१०० जहाजमा एउटा यस्तै संग्रहालय बनिसकेको छ । काठमाडौंको सिनामंगलमा त्योभन्दा पनि ठूलो जेट विमानमा संग्रहालय बन्दै गरेको छ ।

    अबको केही महिनाभित्र काठमाडौंको सिनामंगलमा एउटा अलग्गै संग्रहालय बन्नेछ । यसको नाम छ– एभिएसन म्युजियम । यो म्युजियम कुनै भवनमा हुने छैन । बरु ६३ मिटर लामो र १७ मिटर अग्लो जेट विमानमा हुनेछ । यसलाई खुला आकाशमा राखिने छ ।

    एभिएसन म्युजियम सञ्चालन गर्ने व्यक्ति हुन्– कैलाली जन्मघर भएका ५३ वर्षीय पाइलट वेद उप्रेती । संग्रहालय त्यही जहाजमा बनाइँदै छ, जुन दुई वर्षअघि (२०७१ फागुन २० गते) बिहान अवतरण गर्नै लाग्दा त्रिभुवन विमानस्थलको धावनमार्ग छेउमै धसिएको थियो । काठमाडौंमा मर्मत गर्न नसकिने भएपछि टर्किस एयरलाइन्सले यो विमान गत कात्तिकमा क्याप्टेन उप्रेतीलाई बिक्री गरेको थियो । यो विमान फ्रान्समा मुख्य कार्यालय रहेको ठूला विमान उत्पादन गर्ने एयरबस कम्पनीले उत्पादन गरेको हो ।

    काठमाडौंको सिनामंगलमा बन्दै गरेको यो संग्रहालयका लागि ६ करोड रुपैयाँ खर्च लाग्ने छ । संग्रहालयलाई क्याप्टेन उप्रेतीले हवाई सेवाको नियमन र सञ्चालन गर्ने सरकारी निकाय नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा चलाउँदै छन् ।

    यो संग्रहालयलाई संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ) ले विश्वभर लागू गरेको एनग्याप कार्यक्रमसँग जोडिएको छ । एनग्याप भनेको आगामी पुस्तालाई लक्षित गरेर
    नागरिक उड्डयनकर्मी उत्पादन गर्न सघाउने कार्यक्रम हो । पाइलट बन्न इच्छुकहरूको संख्या बढाउनु यसको लक्ष्य हो ।

    अहिले विश्वभर व्यावसायिक उडानमा करिब १७ हजार ठूला विमान रहेको अनुमान छ । अबको २० वर्षपछि २५ हजार विमान थपिने अनुमान छ । तर थपिँदै गरेका ती विमान मर्मत गर्ने इन्जिनियर र उडाउने पाइलटको भने विश्वभर अभाव बढ्दै गएको छ । अबको १० वर्षभित्र ४ लाख ८० हजार नयाँ प्राविधिक र ३ लाख ५० हजार पाइलट विश्वभर अभाव देखिने अनुमान छ ।

    ‘यो अभावलाई कसरी पूरा गर्ने भन्ने विषयलाई ध्यानमा राखेर नै आईकाओले एनग्याप (नेक्सट् जेनेरेसन या एभिएसन प्रोफेसनल्स) कार्यक्रम विश्वभर लागू गरेको हो,’ प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम भन्नुहुन्छ । यसको उद्देश्य माध्यमिक र उच्च मावि तहमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई उड्डयनसँग सम्बन्धित क्षेत्रमा दक्ष जनशक्ति बनाउन आकर्षण गर्ने हो । ‘पहिले पहिले धेरै विद्यार्थी आफ्नो भविष्यको उद्देश्य कि डाक्टर कि पाइलट बन्ने बताउँथे, तर अहिले पाइलट बन्ने रुचि घटेको देखियो,’ महानिर्देशक गौतमले भने, ‘त्यसैले हामी धनगढीमा रहेको वेद उप्रेती ट्रस्टसँग मिलेर एभिएसन म्युजिम चलाउँदै छौं ।’
    पाइलट उप्रेतीका अनुसार, यो संग्रहालय बनेपछि कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई नि:शुल्क प्रवेश दिइने छ । अन्य विद्यार्थीलाई टिकटमा ५० प्रतिशत छुट दिइनेछ । यसको उद्देश्य एभिएसन विषयमा विद्यार्थीहरूको रुचि जगाउनु हो ।

    नेपालमा बन्न लागेको यो म्युजिमय ठूलो आकारको हुनेछ । पाइलट उप्रेतीका अनुसार, विश्वका चर्चित १० वटा एभिएसन म्युजियममा पनि यत्रो विमान छैन । ‘अमेरिका, फ्रान्स, क्यानडा, चीन र पोल्यान्डमा रहेका एभिएसन म्युजियम विश्वकै दस उत्कृष्ट हुन् । उनीहरूले समेत यत्रो विमान म्युजियममा प्रयोग गर्न सकेका छैनन्,’ क्याप्टेन उप्रेतीले भने । एयरबसले उत्पादन गरेका यस्ता विमान अहिले विश्वभर उडानमै छन् । यसको उत्पादन बन्द भइसकेको छैन । यति ठूला विमान दुर्घटनामा परी हाले प्राय: आगो लागेर ध्वस्त नै हुने गर्छन् । तर, नेपालमा भएको यो दु:खद् घटनामा आगलागीबाट जोगिएको यो विमान संग्रहालयका लागि उपलब्ध हुनु नै ‘ठूलो अवसर’ हो । कम्तीमा २२ अर्ब रुपैयाँ मूल्य पर्ने यो विमान करिब ९ महिना जति मात्रै उडेको थियो । तर, टर्किस एयरले नेपालबाट अन्यत्र उडाएर लैजान नसकिने र यतै मर्मत गर्दा पनि करिब करिब जहाजको मूल्य बराबरकै खर्च आउने भएपछि लिलामीमा बिक्री गरेको हो ।
    संग्रहालय बनेपछि यहाँभित्र राइट ब्रदरका पालादेखि अहिलेसम्म बनेका ४ सय प्रकारका जहाजका स–साना स्वरूप राखिनेछन् । उड्डयन कसरी सुरु भयो भन्नेबारे वृत्तचित्रहरू देखाइनेछन् । आकाशबाट खिचेका तस्बिरहरूको प्रदर्शनी हुनेछ । कार्गो बोक्ने कम्पार्टमेन्टमा पाइलट, एयरहोस्टेस लगायतका लागि सेमिनार हलसमेत बनाइनेछ ।

    जो जहाजमै रमाउँछन्
    कैलालीमा २०२० साल साउनमा जन्मेका पाइलट वेद उप्रेती सुरुमा इन्जिनियर बन्न चाहन्थे । तर, उनले छात्रवृत्ति नपाएपछि २०४० सालमा नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्ट पदमा जागिर सुरु गरे । सेनाबाट यिनले भारतको पुनास्थित नेसनल डिफेन्स एकेडेमी र हैदरवादको इन्डियन एयरफोर्स एकेडेमीमा पाइलट तालिम लिने मौका पाए ।

    भारतबाट फर्केपछि उप्रेतीले १२ वर्ष सेनामा बिताए । त्यसपछि सेनाको जागिर छाडेर त्यतिबेलाको नेकोन एयरको विमान उडाए । त्यो पनि बन्द भएपछि भारतको एयर डेकोन, किंगफिसरको विमान उडाए । ५ वर्षयता उनी इन्डोनेसियाको लायन एयरमा एटीआर विमान उडानमा संलग्न छन् । लायनमा क्याप्टेन उप्रेती यही वर्गको जहाज उडाउने पाइलटहरूको तालिम जाँच गर्ने शिक्षक पाइलट पदमा कार्यरत छन् ।

    ५/७ वर्षको उमेरमा छँदा धनगढी डडेल्धुरा ६ दिन हिँडेर धेरैपटक ओहोरदोहोर गरेका उप्रेती आफू पाइलट हुनुमा त्यस बेलाको ‘धनगढी–डडेल्धुरा राजमार्ग परियोजना’ प्रेरणा भएको बताउँछन् ।
    उक्त परियोजनामा कार्यरत आफ्ना मामाका कारण सिभिल इन्जिनियरहरूसँग भेट नभएको भए सायदै आफू पाइलट हुन नसक्ने उनले बताए । ‘भविष्यमा साइन्स पढेर इन्जिनियर बन्नेछु अनि पहाडहरूमा सुन्दर सडक बनाउनेछु भनेर प्रमाणपत्र तहमा विज्ञान विषय लिएर पढें । यसैका कारण आज म पाइलट बनें,’ उप्रेतीले फेसबुक च्याटमा इन्डोनेसियाबाट भने । हालसम्म ११ हजार घन्टा आकाशमा ताइसकेका उप्रेतीले नेपालमा मात्रै ४५ सय घन्टा विमान उडाइसकेका छन् ।

    दुई वर्षअघि धनगढीमा स्थापना गरिएको एभिएसन संग्रहालय क्याप्टेन उप्रेतीको पहिलो परियोजना हो । काठमाडौंबाट बिग्रेर थन्किएको फोकर विमानलाई टुक्रा पारेर लरीमार्फत ढुवानी गरेर उनले उक्त विमानलाई धनगढीमा पुर्‍याएका थिए । सुदूरपश्चिममा त्यो संग्रहालय स्कुले विद्यार्थीका लागि एउटा लोकप्रिय गन्तव्य बनेको छ ।




    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture