• Breaking News

    Tuesday, February 14, 2017

    केन्याविरुद्ध खेल्न ब्याटिङ सुधार्दै नेपाली टोली

    काठमा- नेपाली राष्ट्रिय क्रिकेट टिमले टोलीको संरचना परिवर्तनको ग्यारेन्टी गर्र्दै आइतबारबाट कीर्तिपुर मैदानमा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि विशेष तयारी सुरु गरेको छ।

    फागुन २८ र ३० गते हुने केन्याविरुद्धको खेलका लागि नेपालले प्रारम्भिक चरणमा ५२  खेलाडीलाई बोलाएर करिब एक महिनाअघि सुपर लिग खेलबाट तयारी शुरू गरेको थियो। ५२ बाट ३२ हुँदै अहिले २४ खेलाडी बन्द प्रशिक्षणमा छन्।

     पक्कै पनि पुराना खेलाडीमा अनुभव थियो। तर नयाँमा पनि प्रशस्त सम्भावना छ। हामीले मौका दियौं भने राम्रो गर्ने क्षमता उनीहरूमा छ। खेलमा चाहिने रन हो र  यिनीहरूले रन बनाइरहेका छन्।
    ५२ बाट २४ खेलाडीसम्म आइपुग्दा यसअघि नियमित विकेटकिपरको रूपमा रहेका सुवास खकुरेल टोलीबाट बाहिरिसकेका छन्। पछिल्लोपटक नामिबियाविरुद्धको खेलमा विकेटकिपरको जिम्मा पाएका राजु रिजाल पनि २४ भित्र अट्न सकेनन्।

    मुख्य प्रशिक्षक जगत टमाटाले पछिल्लो प्रदर्शनका आधारमा टोली छनोट गरिएको बताउँदै सुवास र राजुको स्थान विनोद भण्डारीले लिन सक्ने संकेत गरे। ‘पक्कै पनि सुवास हाम्रा नियमित विकेटकिपर हुन्।  तर खेलाडीले पछिल्लो समयमा गरेको प्रदर्शनका आधारमा हामीले टोली छनोट गरेका छौं,’ मंगलबार त्रिवि मैदानमा मुख्य प्रशिक्षक टमाटाले भने, ‘अहिले सुवास र राजु दुवै टोलीमा छैनन्। तर, अहिले हामीसँग २ विकेटकिपर छन्— विनोद र दिलीप नाथ। दिलीपको ब्याटिङ पनि राम्रो छ। विनोदले विकेटकिपिङ सम्हाले हामी एक अतिरिक्त ब्याट्सम्यान थप्न सक्छौं।’ नामिबियाविरुद्धका ओपनर नरेश बुढाऐरसँगै लामो समय ओपनिङको जिम्मेवारीमा रहेका अनिलकुमार मण्डल तथा सुवास पनि टोलीमा नहुँदा ब्याटिङ सुरुआत नयाँ खेलाडीबाट हुने सम्भावना बलियो छ। प्रशिक्षक टमाटाले पनि त्यसलाई स्वीकार गरे।

    ‘पक्कै पनि पुराना खेलाडीमा अनुभव थियो। तर नयाँमा पनि प्रशस्त सम्भावना छ। हामीले मौका दियौं भने राम्रो गर्ने क्षमता उनीहरूमा छ। खेलमा चाहिने रन हो र  यिनीहरूले रन बनाइरहेका छन्। साथमा जोस पनि छ,’ उनले थपे, ‘दिलीपलाई जोड्ने हो भने अहिलेको टोलीमा ४ विकल्प छन्— सुनील धमला, असिफ शेख र अमित श्रेष्ठ। यी चारमध्ये उत्कृष्ट एउटा छान्ने हो।’

    नेदरल्यान्ड्सविरुद्धको खेलमा सुनील १५औं खेलाडीका रूपमा टोलीमा थिए। प्रशिक्षक टमाटाले नेपालको सबल पक्ष बलिङ नै भए पनि अहिले ब्याटिङमा धेरै सुधार गरिरहेको बताए।

    ‘हाम्रो बलियो पक्ष बलिङ भनेर सबैलाई थाहा छ। हामीसँग २ क्वालिटीका स्पिनर छन्। तीव्र गतिका बलरले पनि राम्रो गरिरहेका छन्,’ टमाटाले भने, ‘ब्याटिङमा हाम्रो केही समस्या हो। विशेष गरी ओपनिङमा। तर अहिले हामीले यसमा सुधार गरेका छौं। हाल फिटनेस ट्रेनरको रूपमा राजेश चौहानले पनि टमाटालाई साथ दिएका छन्।'

    नेपाली टोलीका मुख्य प्रशिक्षक टामाटालाई विनोद दासले सहयोग गरिरहेका छन्। नेपाली टोलीलाई बिटुएफ फाउन्डेसनले माघ १२ देखि २५ गतेसम्म हाइ पर्फमेन्स प्रोग्रामअन्तर्गत डेभ ह्वाटमोरबाट प्रशिक्षित गरेको थियो।

    प्रशिक्षक टमाटाले अब केही दिनमै १८ खेलाडीको नाम सार्वजनिक गर्ने बताए। आइतबारबाट दैनिक ५/६ घन्टा अभ्यास भइरहेको बताउँदै उनले फागुन १३ गते थप अभ्यास खेलका लागि भारतको नोएडा जाने बताए।

    दिल्लीमा कस्तो टोलीविरुद्ध खेल्नेबारे भने अझै टुंगो लागिसकेको छैन। यद्यपि प्रशिक्षक टमाटाले त्यहाँको राम्रोभन्दा राम्रो टोली उपलब्ध हुने विश्वास व्यक्त गरे।

     नरेश बुढाऐरसँगै अनिलकुमार मण्डल तथा सुवास पनि टोलीमा नहुँदा नयाँ खेलाडीले ओपनिङ गर्ने सम्भावना बलियो छ।
    विश्व क्रिकेट लिग च्याम्पियनसिपमा ८ खेल सकिँदा नेपाल ६ अंकका साथ छैटौं स्थानमा छ। नेपालले अब केन्या, हङकङ र युएईसँग प्रतिस्पर्धा गर्न बाँकी छ। पपुवा न्युगिनी १२ अंकका साथ शीर्ष स्थानमा छ भने समान १२ अंक जोडेको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ। समान ११ अंकको हङकङ र स्कटल्यान्ड क्रमशः तेस्रो र चौथो स्थानमा छन्। शीर्ष ४ टोलीले २०१९ मा हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्न पाउनेछन्। अन्तिम २ टोली डिभिजन २ मा झर्नेछन्।

    केन्या २०११ को संस्करणसम्म नियमित एकदिवसीय विश्वकप खेलेको राष्ट्र हो। तर बीचमा घरेलु समस्याका कारण आइसिसीको निलम्बनमा परेपछि पछिल्ला संस्करणमा केन्याले सहभागिता जनाउन सकेको छैन। प्रशिक्षक टमाटाले केन्या राम्रो टोली भए पनि आफूले सफल नतिजा निकाल्ने विश्वास व्यक्त गरे।

    ‘केन्या विश्वकप खेलिसकेको टोली हो। यही प्रतियोगितामा पनि उनीहरू हामीभन्दा माथि छन्। त्यसैले उनीहरूलाई कमजोर आँक्न मिल्दैन,’ टमाटाले भने, ‘तर, हामी घरेलु मैदानमा खेल्दै छौं। हामीलाई अभ्यस्त भएको विकेटसँगै घरेलु दर्शकको साथको फाइदा मिल्नेछ। घरेलु मैदान भएकाले खेलाडीको मनोबल पनि उच्च छ। त्यसले राम्रो नतिजा आउनेमा विश्वस्त छु।’

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture