• Breaking News

    Sunday, February 12, 2017

    गोरखालीहरू नेपालको सैनिक सेवामा मात्र संलग्न हुन्छन् भन्नु उनीहरूलाई कम आँकलन गर्नु हो । नेपालमा हमला गर्ने हिम्मत आज पनि कसैमा छैन भने त्यसको एक मात्र कारण गोरखालीहरूको छवि नै हो । उनीहरू सभ्य र निडर हुन्छन् । जो केवल नेपाली सेनामा मात्र सेवा गर्दैनन्, अपितु बेलायती तथा भारतीय सेनाका लागि पनि मर्न तत्पर रहन्छन् । आज होइन, सन् १८१४–१६ को नेपाल–अंग्रेज युद्धको अन्त्यदेखि नै यो परम्परा चलिआएको छ । विकट परिस्थिति तथा दुर्गम क्षेत्रहरूमा पनि उनीहरू आफ्नो असाधारण वीरता र नायकत्व प्रदर्शन गर्न सक्छन् । आफ्नो यो परम्परामा विश्वास राख्ने एक गोरखा सैनिक दीपप्रसाद पुनले अफ्गानिस्तानको एउटा मोर्चामा एक्लैले एउटा पोष्टमा ३० जना तालीबानी लडाकुलाई मात ख्वाइदिएका थिए ।

    यो घटना अफगानीस्तानको हेल्मन्ड प्रान्तमा सेप्टेम्बर २०१० को एक साँझ घटेको थियो । गोरखा राइफल्सका हवल्दार दीपप्रसाद पुन चौकीको दोस्रो तल्लामा तैनाथ थिए । त्यही बेला उनले केही हलचल सुने । ध्यानपूर्वक हेर्दा त्यहाँ सडकमा विद्रोहीहरू विस्फोटक (इम्प्रोभाइज एक्सप्लोसिभ डिभाइस अर्थात् आईईडी) पदार्थ राख्ने प्रयास गरिरहेका थिए । पुनलाई बुझ्न गार्‍हो भएन कि उनी चारैतिरबाट घेरिइसकेका छन् तसर्थ उनले हार नमानी युद्धमा डट्ने निर्णय गरे । त्यो रात त्यहाँको आकाश गोली र रकेट प्रोपेड ग्रेनेड (आरपीजी) फायरले गुञ्जायमान थियो । पुन तैनाथ चौकीलाई हानी पुर्‍याउने पूरा योजनाका साथ तालिबानी लडाकुहरूले उक्त हमला गरेका थिए । यद्धपि पुन आत्तिएनन्, बरु पुरा जोस र हिम्मतका साथ मसिनगन उठाए, ट्राइपोड लगाए अनि त्यसपछि आँखा चिम्लेर अन्धाधुन्ध गोली बर्साउन थाले । पुनले आक्रमणकारीहरूलाई सम्हालिने अवसर पनि दिएनन् । पुनले १७ वटा ग्रेनेडले शत्रुहरूमाथि आक्रमण गरे । ग्रेनेड सकिएपछि एसए ८० सर्भिस राइफलले दनादन गोली बर्साए । यहाँसम्म कि उनी शत्रुहरूमाथि बारुदी सुरुङ फ्याँक्नसमेत हिचकिचाएनन् ।

    उक्त घटना स्मरण गर्दै पुन भन्छन्— ‘एक तालीबानी लडाकू गार्ड हाउससंग टाँसिएको टावर चढ्ने प्रयास गरिरहेको थियो । मैले तत्काल उसलाई जमिनमा खसाल्नु थियो । मैले उसलाई त्यहाँबाट हटाउन सफलता त हासिल गरें तर हतियारले मलाई ऐन मौकामा धोका दिएको थियो, त्यतिबेला राइफल चलेन । मैले मसिनगनको ट्राइपड उठाएर त्यो तालिबानीको टाउकोमा प्रहार गरें, त्यसपछि ऊ जमिनमा ढल्यो ।’


    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture