• Breaking News

    Friday, January 27, 2017

    नेपालमा पहिलो पटक ठूलो राष्ट्रिय झण्डा सार्वजनिक

    काठमाडौँ, १४ माघ, नेपाली देशभक्त यूवा समाजले नेपालको इतिहासमै ठूलो राष्ट्रिय झण्डा सार्वजनिक गरेकोे छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समाजका अध्यक्ष नारायण प्रसाद ढुङ्गाना, रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमला, समाजका उपाध्यक्ष भोजराज तिमल्सिना, सदस्यहरु नवराज गौतम, राधिका सापकोटा लगायतले अहिलेसम्मकै ठूलो अर्थात १० मिटर अग्लो र साँढे सात मिटर चौडाई रहेको नेपालको राष्ट्रिय झण्डा सार्वजनिक गरेका हुन् ।

    करिब आठ किलो वजन रहेको उक्त झण्डा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडाले बनाईएको आयोजकले जनाएको छ । अध्यक्ष ढुङ्गानाका अनुसार उक्त झण्डा आउँदो १६ गते सहिद दिवसको अवसरमा काठमाडौँको माइतिघर मण्डलमा फहराईने छ । अध्यक्ष ढुङ्गानाले सहिदहरूलाई सम्झनाका लागि सहिदगेट पुग्नैपर्छ भन्ने भावना हटाएर सहिदलाई मनदेखि सम्मान गर्नुपर्ने बताए ।

    उनले भने, 'देश बनाउनको लागि शहिदहरुको अमूल्य योगदान रहेको छ, सरकारले सहिद घोषणा गर्ने काममा ध्यान दिएको छैन, राजनीतिक दलबलको आधारमा सहिद घोषणा गर्दा वास्तविक सहिदहरूको अपमान हुन्छ, त्यसैले यसबारेमा राज्यले बिचार गरोस् ।'

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्य तथा राष्ट्रकवि माधव प्रसाद घिमिरेको विशिष्ट आथित्यमा माइतिघर मण्डलामा उक्त झण्डा गाडिने आयोजकले जनायो ।

    उक्त अवसरमा समाजमा ख्यातिप्राप्त व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । जसमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, पत्रकार ऋषि धमला, अनुराधा कोइराला, पुष्पा बस्नेत, विमल घर्तिमगर लगायतलाई सम्मान गर्ने आयोजकले जनाएको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture