• Breaking News

    Thursday, January 26, 2017

    पर्वत— विद्युत् उत्पादनका दृष्टिले पर्वत जिल्ला सम्पन्न मानिन्छ। यहाँ तीन वटा जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन भइरहेकाे छ भने बाँकी तीन वटा आयोजना निर्माणाधीन छन्। अन्यत्र १४ घण्टा लोडसेडिङ हुँदा समेत उज्यालो पाउने पर्वतका जनता आफूलाई भाग्यमानी नै ठान्छन्।

    पाँचौं पर्वत महोत्सवको उद्‌घाटनका लागि आएका प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार मुलुकलाई लोडसेडिङमुक्त बनाउने भाषण गर्न थालेपछि भने विद्युत् अापूर्ति बन्द भयो।

    बोल्ने बेलामा बिद्युत काटिएपछि प्रधानमन्त्री दाहाल केही समय उभिइरहे। पर्वत जिल्लाको विकासका सम्भावना र पर्वतका ब्यवसायी तथा राजनीतिक दलले राखेका विकासे माग सम्बोधन गरेपछि प्रधानमन्त्री दाहाल देशैभर लोडसेडिङमुक्त गराउने बिषयमा बोल्न थालेका थिए। त्यहीबेला विद्युत् आपूर्ति बन्द हुन पुग्यो। त्यसपछि प्रधानमन्त्री दाहाल माइक अगाडि केही बेर उभिइरहे। निकैबेर नआएपछि उनी फर्किएर आफ्नो सिटमा गएर बसे।

    नेपाल विद्युत प्राधिकरण पर्वत शाखाले २४ सै घण्टा विद्युतको ग्यारेन्टी गर्दै आएको छ। महोत्सव आयोजकले वैकल्पिक व्यवस्थाका लागि जेनेरेटर पनि राखेका थिए। तर त्यसको चुस्त व्यवस्थापन हुन नसक्दा प्रधानमन्त्रीको मन्तव्य अवरुद्ध भयो। प्रमुख अतिथिकै बेलामा विद्युत् आपूर्तिमा समस्या आएपछि आयोजकहरुको दौडादौड भएको थियो।

    करिब ७ मिनेटपछि जेनेरेटरबाट विद्युत आपूर्ति भएपछि प्रधानमन्त्री फेरि बसेको सिटबाट भाषण गर्न उठेका थिए।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture